दफा ८
समितिको बैठक
(१) अध्यक्षले तोकेको मिति, स्थान र समयमा समितिको बैठक बस्नेछ ।
(२) समितिको बैठक वर्षमा कम्तीमा ६ पटक बस्नेछ र दुई बैठकको बीचको अवधि तीन महीना भन्दा बढी हुने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि छलफल गर्न खोजिएका विषय–सूची सहित कम्तीमा तीन जना संचालकले लिखित अनुरोध गरेमा अध्यक्षले र अध्यक्षको अनुपस्थितिमा प्रशासकले सात दिनभित्र समितिको बैठक बोलाउनु पर्नेछ ।
(४) कम्तीमा आधाभन्दा बढी संचालकहरू उपस्थित नभई समितिको बैठक बस्ने छैन ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा संचालकहरूले आफू मध्यबाट छानेका संचालकले समितिको बैठकको अध्यक्षता गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
(७) समितिको बैठकमा उपस्थित संचालकहरू, छलफलका विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण छुट्टै किताबमा लेखी राख्नु पर्नेछ ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गर्न सक्नेछ ।